वि.सं. २०५० सालमा स्थापित शैक्षिक जनशक्ति विकास केन्द्र अन्तर्गत वि.सं.२०५३ सालमा प्राथमिक शिक्षकहरुलाई तालिम दिने उद्देश्यले देशभर ९ वटा प्राथमिक शिक्षक तालिम केन्द्रको स्थापना गर्ने क्रममा शिक्षा तालिम केन्द्र, दिपायल, डोटीको स्थापना भएको हो। वि.सं.२०६१ सालमा प्राथमिक शिक्षकहरुलाई तालिम दिदै आईरहेको प्राथमिक शिक्षक तालिम केन्द्रलाई नाम परिवर्तन गरी शैक्षिक तालिम केन्द्र 'क' बनाईयो । त्यसैताका साविकमा रहेका माध्यमिक शिक्षा विकास एकाइ (सेडु) हरुलाई शैक्षिक जनशक्ति विकास केन्द्र मातहत रहने गरी २० ओटा शैक्षिक तालिम केन्द्र 'ख' तथा ५ उपकेन्द्रका रुपमा पुर्नस्थापित गरियो। नेपालको संविधान बमोजिम तीन तहको शासकीय स्वरुपको व्यवस्था भए बमोजिम २०७४ सालमा प्रदेश सरकारको गठन भएसँगै प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय मातहतमा शिक्षा तालिम केन्द्रको रुपमा स्थापना भई सञ्चालनमा रहेको छ ।
हाल यस केन्द्रले सुदूरपश्चिम प्रदेश अन्तर्गत स्थानीय तहका शिक्षा क्षेत्रमा कार्यरत जनशक्ति र विद्यालयमा कार्यरत प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुको वृत्ति विकाससम्बन्धी तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । बिषयगत तथा जेनेरिक रुपमा शिक्षक पेशागत विकास (TPD) प्रमाणिकरण तालिम, प्रधानाध्यापकहरुका लागि नेतृत्व क्षमता विकास तालिम, शिक्षकहरुका लागि पुनर्ताजगी तथा कष्टमाईज्ड TPD तालिम कार्यक्रमहरु एवम् रा.प.अनं.प्रथम श्रेणी (नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह) पाँचौ तह, प्राविधिक सहायकहरुको (३० कार्यदिन) शैक्षिक प्रशासन सम्बन्धी सेवाकालीन तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको यस तालिम केन्द्रले आफ्नो सेवा क्षेत्रका विद्यालयहरुका स्थलगत अवलोकन, अध्ययन, अनुगमन तथा शिक्षकहरुलाई प्राविधिक सहायता प्रदान गर्ने जस्ता कार्यहरु पनि गर्दै आईरहेको छ । यस तालिम केन्द्रले दिपायल केन्द्रका साथसाथै महेन्द्रनगर, धनगढी र पाटनमा रहेका शिक्षा तालिम उपकेन्द्रहरुमा पनि उपर्युक्त कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
शिक्षा तालिम केन्द्रको कार्यविवरणः
प्रत्येक प्रदेशमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरी शिक्षा तालिम केन्द्रको स्थापनाको आधारलाई दृष्टिगत गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा संघ स्तरमा रहेका निकायहरुको कार्य विवरणसँग नबाझिने गरी देहायका कार्यविवरण निर्धारण भएको छ ।
- विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप तथा राष्ट्रिय गुणस्तर मापदण्ड निर्धारण अनुसार शिक्षक तथा कर्मचारीहरुको क्षमता विकासका कार्यहरु ।
- पाठ्यक्रम सम्वद्ध अध्ययन अनुसन्धान तथा पाठ्यक्रम कार्यान्वयन अनुगमन व्यवस्था ।
- पाठ्यक्रम तथा पाठ्यसामग्रीको प्रभावकारी कार्यान्वयनका लागि तालिम संचालन ।
- विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम तथा मानव संसाधन विकासको क्षेत्रमा मन्त्रालयको नीतिको कार्यान्वयन ।
- शैक्षिक तालिम कार्यक्रम तथा निकायहरुको तोकिएको मापदण्ड अनुसार सम्वन्धन, प्राविधिक सहयोग, समन्वय, अनुगमन तथा नियमन ।
- प्रदेश तथा स्थानीय तहसंग पाठ्यक्रम संवद्ध क्रियाकलापमा समन्वय, क्षमता विकास र प्राविधिक सेवा प्रवाह ।
- शिक्षक विकासका लागि प्रदेश तहमा मापदण्ड तर्जुमा तथा कार्यान्वयन सम्वन्धी कार्यहरु ।
- विभिन्न तहमा शैक्षिक गुणस्तरका लागि शैक्षिक सामग्रीको सूची विकास, तालिम पाठ्यक्रम तथा सन्दर्भ सामग्री विकास र प्रमाणीकरण तालिम सामग्री उत्पादन तथा वितरण सम्वन्धी कार्य ।
- शिक्षक तालिम मान्यता तथा समकक्षताका कार्य ।
- तोकिएबमोजिमका अन्य कार्यहरु ।